काठमाडौं - बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजको उपाधि जितेर राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले टिमलाई त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा स्वागत गरेका थिए। 

पहिलो खेल १-१ को बराबरी र दोस्रो खेल गोलरहित बराबरी खेलेको नेपालले टाइब्रेकरमा घरेलु टोली बंगलादेशलाई ४–२ ले पराजित गर्दै फिफाको मान्यता प्राप्त मैत्रीपूर्ण सिरिज हात पारेको थियो। टाईब्रेकरमा गोलरक्षक अञ्जना रानामगरले बंगलादेशी खेलाडीको दुई प्रहार बचाएपछि नेपालले शृंखलामाथि कब्जा जमाएको हो।

टाईब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हीरा भुजेल, दीपा शाही र अनिता केसीले गोल गरेका थिए भने अञ्जनाको प्रहार बारमा लाग्दै बाहिरिएको थियो। बंगलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गरेका थिए भने मारिया मन्डा र सेइली अजिमको प्रहारलाई अञ्जनाले विफल पारेकी थिइन्।

स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशको होम ग्राउण्डमा पराजित गर्नु उपलब्धी भएको र यसले खेलाडीहरुको मनोबल बढेको बताए। मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरूको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने उनले बताए।

टिमकी कप्तान एन्जिला सुब्बाले सिरिजको उपाधि जित्नु खुसीको कुरा भए पनि आगामी दिनमा थप मजबुद हुनुपर्ने धारणा राखिन्। 

१९औं एसियाली खेलकुदको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।