काठमाडौं - एसीसी यू–१६ इस्ट जोन कप अन्तर्गतको सेमिफाइनल खेलमा सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेटको क्षतिमा १८४ रन बनायो। १८५ रनको लक्ष्य पछ्याएको सिङ्गापुरले ३१.३ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमायो। 

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै ६ चौकाको मद्दतमा ४३ रनको योगदान दिए। यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यसैगरी अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए। 

सिङ्गापुरका हरिहरनले तीन, हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए। 

सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए। 

नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले एक/एक विकेट लिए।

नेपालले अब उपाधिका लागि मङ्गलबार मलेसियासित खेल्नेछ। 

- रासस