काठमाडौं - डिफेन्डिङ च्याम्पिअन नेपालले मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कपमा थाइल्यान्डविरुद्ध २२५ रनको फराकिलो जित हात पारेको छ।

बाङ्गीस्थित युकेएम् रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २६९ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्डले १३.२ ओभरमा अलआउट हुनुअघि ४४ रन मात्रै बनाउन सक्यो।

थाइल्यान्डका लागि इशान बेनेर्जीले सर्वाधिक १६ जोडे । अर्का ब्याटर दानुफोन फाउन्गोटपिनिटले १२ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि सन्तोष यादवले ३.२ ओभरमा आठ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए। अशोक धामीले तीन तथा अभिषेक तिवारीले दुई विकेट लिए।

नेपालका लागि निरज कुमार यादवले ४३ बलमा सात चौका र ६ छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे। यस्तै नरेन भट्टले ५५, सन्तोष यादवले ४२ र सूर्यान्सु कोइरालाले ४० रनको योगदान गरेका थिए।

गत सोमबारबाट सुरु भएको प्रतियोगितामा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, सिङ्गापुर, इन्डोनेसिया, थाइल्यान्ड र नेपाल सहभागी छन् ।समूह ‘ए’ मा नेपाल, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा सिंगापुर, हङकङ, इन्डोनेसिया र माल्दिभ्स छन् ।

नेपालले अब ३० जुनमा मलेशियासँग खेल्ने छ । 

कोभिड-१९ को महामारीले स्थगित भएको प्रतियोगिताको अघिल्लो संस्करण अर्थात २०१९ मा नेपालले मलेशियालाई पराजित गर्दै थाइल्यान्डमा उपाधी जितेको थियो ।