काठमाडौं - आशिष चौधरीको एक मात्र गोलको मद्दतले नेपालले साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० ले पराजित गरेको छ।

भारतको बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा भएको खेलको ८० औँ मिनेटमा नेपालका लागि आशिषले गरेको एक मात्र गोल निर्णायक बन्यो। घरेलु लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्दै आएका आशिषको राष्ट्रिय टिमका लागि यो पहिलो गोल हो। 

पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टिम भारतसँग २–० को नतिजामा पराजित भएर प्रतियोगिताबाट एक खेल अगावै बाहिरिसकेको नेपालका लागि यो सान्तवना जित हो। 

नेपाल यसअघि २०१५ मा भारतकै केरलामा भएको संस्करणमा पनि समूह चरणबाटै बाहिरिएको थियो।