काठमाडौं - पाँचौ संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ। 

सप्तरीको राजविराजमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम ओभरको ३ बल बाँकी छँदा खडक वारियर्सले १४५ रनको लक्ष्य पूरा गर्दै कञ्चनरुप राइनोजलाई ४ विकेटले पराजित गरी तेस्रो पटक लिगको उपाधि जितेको हो। 

५८ रनमा ४ विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका वारियर्सका बिशाल सुश्लिंगले सुश्लिंगले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याए। सुश्लिंगले पाँचौ विकेटको लागि बिवेक यादवसँग ३० रन, छैठौं विकेटको लागि दिनेश अधिकारीसँग ३६ रन तथा सातौँ विकेटको लागि अनिल यादवसँग अविजित २२ रनको साझेदारी गरे। 

रोमाञ्चक खेलको अन्तिम ८ बलमा २० रन आवश्यक हुँदा राशिद खानले १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवस्यक हुँदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका हुन्।

कञ्चनरुपका लागी चित्र बिष्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको कञ्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो। कञ्चनरुपको लागि २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका ओपनर दिलिप नाथले सर्वाधिक ४२ रनको योगदान दिए। 

वारियर्सका लागी कप्तान बिबेक यादवले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १/१ विकेट लिए। 

प्रतियोगिताको उपाधिसहित वारियर्सले तीन लाख र उपविजेता कञ्चनरुप राइनोजले एक लाख ५० हजार प्राप्त गरे। प्लेयर अफ द सिरिज घोषित कञ्चनरुप राइनोजका राशिद खानले २५ हजार प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर खडक वारियर्सका दिनेश अधिकारीले १५-१५ हजार प्राप्त गरे।यस्तै प्रतियोगिताको उदयीमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादवले क्रिकेट किट प्राप्त गरे।