काठमाडौं - नेपालले आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोटको समूह 'बी'मा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

नेपालका लागि भीम सार्कीले ११४ बलमा ७ चौका र एक छक्कासहित अविजित ७७ रन बनाए। अमेरिकाका लागि सौरभ नेत्राभल्कर, नोस्थुस केन्जिगे, निसार्ग पटेल र स्टेभन टेलरले एक–एक विकेट लिए।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकको मद्दतमा अमेरिकाले दुई सय आठ रनको लक्ष्य दिएको थियो। जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरेका थिए।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले एक विकेट लिए।

पहिलो खेलमा घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालको प्रतियोगितामा पहिलो जित हो।

आजै भएको समूह 'बी'को अर्को खेलमा जिम्बाब्वेले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर दिएको तीन सय १५ रनको लक्ष्य घरेलु टिमले ४०.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो।