काठमाडौं - आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित भएको छ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टिम निर्धारित ५० ओभरमा जिम्बाब्वेलाई दुई सय ९१ को लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४४.१ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाए । कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफले ६६ रन बनाए।

नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा १७१ रनको सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाए। यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध गत फागुनमा १३९ रनको कीर्तिमान बनाएका थिए।

जिम्बाब्वेका लागि कप्तान एर्भिनले एक सय २८ बलमा १५ चौका र एक छक्कासहित १२१ रनको अविजित शतकीय इनिङ खेले। यस्तै विलियम्सले ७० बलमा १३ चौका र एक छक्कासहित १०२ रनको अर्को अविजित शतक बनाए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुल्शन झाले एक-एक विकेट लिए।

बलिङतर्फ जिम्बाब्वेका लागि रिचार्ड एन्गाराभाले ९ ओभरमा ४३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, वेलिङ्टन मसाकाजादाले १० ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए। टेन्डाई चताराले सात ओभरमा ५९ रन खर्चेर एक मेडनसहित एक विकेट लिए। ब्लेस्सिङ मुजाराबानीले पनि एक विकेट लिए।

६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बावे यात्रा पक्का गरेको थियो।

पाँच वर्ष अघि सन् २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। नेपाल र जिम्बावेबीच भएको त्यो नै एक मात्र एकदिवसीय खेल हो। त्यतिबेला नेपालले एकदिवसीय मान्यता नपाएकाले त्यो खेलले ‘लिस्ट ए’को मान्यता पाएको थियो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेलेका थिए। 

नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्टइन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्।

सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।