काठमाडौं - नेपाल वुद्धिचाल संघको आयोजनामा भोलि (जेठ ३०) देखि असार ४ गतेसम्म दोश्रो साउथ एसियन चेस च्याम्पियनसिप (एससिसी) आयोजना हुने भएको छ।

नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र अफगानीस्तानका खेलाडीको सहभागिता रहने दोश्रो साउथ एसियन च्याम्पियनसिपमा खुला तथा महिला गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। ललितपुरको गोदावरीस्थित होटेल भ्यु भृकुटीमा हुने प्रतियोगितामा दुवै विधातर्फ प्रत्येक देशबाट एक-एक जना, गत संस्करणका च्याम्पियन तथा आयोजकको हैसियतमा नेपालबाट थप एक-एक गरी दश खेलाडीको सहभागिता रहनेछ।

राउन्ड रोविन पद्दतिमा सम्पन्न हुने च्याम्पियनसिपको खुलातर्फ भारतीय इन्टरनेशनल मास्टर नुवइरशाह सेख तथा महिलातर्फ बंगलादेशकी वुमन इन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिन साबिक विजेता हुन्। नेपालबाट खुला स्पर्धामा वर्तमान राष्ट्रिय च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र उपविजेता सुरवीर लामा तथा महिलातर्फ नेसनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी तथा उपविजेता सुशिला गुरुङले प्रलिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको ‘ड्र’ हुनेबेलासम्म कुनै देशका खेलाडी सहभागी नभएको अवस्थामा सो स्थानमा साउथ एशियन चेस काउन्सीलका अध्यक्षको परामर्शमा आयोजक राष्ट्रले खेलाडी सहभागी गराउनेछ।

४० लाख खर्च हुने अनुमान गरिएको च्याम्पियनसिपको कुल नगद पुरस्कार राशी पाँच लाख छ।

खुलातर्फको विजेताले एक लाख ५० हजार, दोश्रो हुनेले एक लाख तथा तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्। यसैगरी महिलातर्फ विजेताले एक लाख, दोश्रो हुनेले ६० हजार तथा तेश्रो हुनेले ४० हजार नगद प्राप्त गर्नेछन्।