काठमाडौं - जुनियर ब्याडमिन्टनतर्फ विश्व नम्बर एक रहिसकेका प्रिन्स दाहाल र जुनियर युगलतर्फ विश्व छैटौं स्थानमा रहिसकेकी रसिला महर्जनले आगामी सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९ औं एशियन गेम्समा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । 

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका छन्। वैकल्पिक खेलाडीमा पुरुष तर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन्। चारै खेलाडी पहिलो पटक एशियन गेम्समा सहभागी हुन लागेको संघले जनाएको छ । 

एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धीलाइ हेर्ने हो भने कोरियाको इन्चोनमा भएको १७ औं र इन्डोनेसियामा भएको १८ औं एशियन गेम्समा नेपालले पुरुष टिम इभेन्टसमा क्वाटरफाइनलसम्म पुग्दै पाचौं स्थान हासिल गरेको छ। तर अहिले खेलाडीको स्तर राम्रो भएपनि खेलाडीको कोटा कम भएकोले टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न नसकिने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए।

छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना दिए।