काठमाडौं - बी डिभिजनमा झरेको एफसी खुमलटारका पदाधिकारीले खेलको बिचमै रेफ्रीमाथि हातपात गरेका छन् ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत एन्फा कम्लेक्स सातदोबाटोमा भएको चर्च ब्वाइज युनाइटेडसँगको खेलको पहिलो हाफको इन्जुरी समयमा खुमलटारका पदाधिकारीले रेफ्रीमाथि मैदानमै हातपात गरेका हुन् ।

डी बक्सभित्र चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ह्याण्ड गरेको भन्दै खुमलटारका खेलाडी र अफिसियलले पेनाल्टीको माग गरेका थिए । तर रेफ्रीले ह्याण्ड नदिएपछि प्लेयर बक्समा रहेका म्यानेजर अन्जन राना क्षेत्रीले मैदान प्रवेश गरेर खेल सञ्चालन गरिरहेका रेफ्री प्रज्वल क्षेत्रीलाई हातपात गरेका हुन् ।

म्यानेजर क्षेत्रीसँगै खुमलटारका अन्य अफिसियल पनि मैदान प्रवेश गरेर रेफ्रीहरुमाथि हातपातमा उत्रिएका थिए । हातपातमा उत्रिएका खुमलटारका म्यानेजरसहति तीन अफिसियलले रातो कार्ड पाएका छन् ।

रेफ्रीमाथि हातपात हुँदा खेलमा चर्च ब्वाइज १-० ले अघि थियो । खेलको १३औं मिनेटमा सुशिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जोसेफ बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफ गोलरहित भएपछी उक्त खेल लिग विजेता चर्च ब्वाइजलाई २-० ले सुम्पँदै ए डिभिजनमा उक्लिएको पहिलो सिजनमै खुमलटार बी डिभिजनमा ओर्लिएको छ । 

२६ खेलबाट २७ अंक जोडेको खुमलटारसँगै बी डिभिजन ओर्लिने दोस्रो टिम भने शनिबार हुने अन्तिम चरणको अन्तिम खेलबाट मात्र टुङ्गो लाग्ने छ । लिगमा आफ्नो अन्तिम खेल खेलिसकेको विभागीय टोली एपीएफ २६ खेलबाट ३० अंक जोड्दै तालिकाको १२ औँ स्थानमा छ भने एक खेल खेल्न बाँकी रहेको थ्री स्टारको २९ अंक छ ।  

२६ खेलबाट २७ अंक जोडेको खुमलटारसँगै बी डिभिजन ओर्लिने दोस्रो टिम भने शनिबार हुने अन्तिम चरणको अन्तिम खेलबाट मात्र टुङ्गो लाग्ने छ । लिगमा आफ्नो अन्तिम खेल खेलिसकेको विभागीय टोली एपीएफ २६ खेलबाट ३० अंक जोड्दै तालिकाको १२ औँ स्थानमा छ भने एक खेल खेल्न बाँकी रहेको थ्री स्टारको २९ अंक छ । हेड टु हेडका आधारमा एपीएफ अगाडी रहेकोले रेलिगेशनबाट बच्न थ्री स्टारलाई आफ्नो अन्तिम खेल जित्नै पर्ने दबाब छ । 

लिगको पहिलो राउन्डमा थ्री स्टार एपीएफसँग २-० ले पराजित भएको थियो भने दोस्रो राउन्डमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।