काठमाडौं - चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो पहिलो सिजनमै च्याम्पियन बनेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल अगाडी नै च्याम्पियन बनेको हो।

गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाइज शीर्ष लिगमा आइपुगेको थियो। चर्च ब्वाइज ७७ सालमा ‘सी’ डिभिजनमा छनोट भएर सोही सिजन च्याम्प्यिन बनेको थियो।

त्यसपछि ‘बी’ डिभिजन च्याम्पियन हुँदै शीर्ष स्थानमा आइपुगेको चर्च ब्वाइज शीर्ष लिग जित्ने १६औं टिम बनेको छ। 

पछिल्लो दुई सिजन लगातार ए डिभिजन च्याम्पियन बनेको मछिन्द्र फुटबल क्लब अंक तालिकामा चर्च ब्वाइजभन्दा ६ अंकले पछाडि छ। मछिन्द्रले दुई खेल कम खेलेको भए पनि हेड टू हेडको आधारमा मछिन्द्रभन्दा अगाडी रहेकाले चर्च ब्वाइज च्याम्पियन बनेको हो। चर्च ब्वाइजले २५ चरण सकिँदा १२ जित, ९ बराबरी र चार खेलमा हार बेहोरेको छ ।

बराबरीसँगै थ्री स्टार २५ खेलबाट २९ अंक जोडेर १२औं स्थानमा छ। रेलिगेसन क्षेत्रबाट जोगिन थ्री स्टार अझै संघर्षरत छ।