काठमाडौं - आगामी जुन २१ देखी भारतको बेङ्गलुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।

प्रशिक्षक एनेसले गोलकिपरमा कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ र दीप कार्कीलाई समेटेका छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्थ थापा परेका छन्।

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा, लाकेन लिम्बु र आभाष लामिछाने परेका छन्।

फरवार्डमा आयुष घलान, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, मनीष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर परेका छन्।

विमल यसअघि घरेलु मैदानमा भएको थ्री नेसन्स कपमा राष्ट्रिय टिममा परेका थिएनन्। यद्यपि, उनले यसपाली पुनरागमन गरेका छन्। यस्तै, सिमन्थ, आभाष र लाकेन लिम्बु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

नेपालले जुन १५ मा फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यहाँबाट नेपाली टिम सोझै साफ च्याम्पियनसिपका लागि भारत जानेछ।

सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।