काठमाडौं - आइतबारदेखि सुरु भएको पाँच खेलको टी-२० महिला क्रिकेट शृंखलामा मलेसियाले नेपाललाई पाँच विकेटले पराजित गरेको छ। 

बाङीस्थित क्रीकेट मैदानमा भएको खेलमा मलेशिया टुरमा रहेको नेपाली टोलीले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। 

घरेलु टिमविरुद्ध निरीह देखिएको नेपालले ५० रन मात्रै बनायो। ब्याटिङमा सम्हालिन नसकेको नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योति पाण्डेले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न बनाउन सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले दुई–दुई तथा कविता कुँवरले एक विकेट लिए।