काठमाडौं - कजाकस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्ज कप २०२३ च्याम्पियन बनेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा भारतले पहिलो सेट २५-१५ ले जितेको थियो।

दोस्रो सेटमा २५-२२ को नतिजा निकालेको भारतले तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो। आजै भएको खेलमा उज्वेकिस्तानविरुद्ध ३–१ सेटको नतिजामा जित निकाल्दै नेपालले तेस्रो स्थान हासिल गरेको थियो। नेपालले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेटमा जित निकाल्यो।

पहिलो सेट २०–२५ ले भ्रमणकारी उज्वेकिस्तानलाई सुम्पिएको नेपालले दोस्रो सेटमा २५–१६ को जित निकालेको थियो। खेलमा निरन्तर दबाब बनाउँदै गएको नेपालले तेस्रो सेट २५–१५ तथा चौथो सेट २५–१३ ले जित्यो।

जेठ आठ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल समूह ‘ए’मा भारत, किर्गिस्तान र बंगलादेशसँग परेको थियो। समूह चरणमा भारतसँग मात्रै पराजित नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा कजाकस्तानसँग २–३ को नतिजामा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्ससमेत रहेको समूह ‘बी’बाट कजाकस्तान समूह विजेता तथा उज्वेकिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए। सेमिफाइनलमा उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो।