काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र एफसी र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दा लिग लिडर चर्च ब्वाइज युनाइटेडलाई फाइदा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै अंकतालिकामा दुवै टोलीको स्थान यथावत छ भने लिग लिडर चर्च ब्वाइज युनाइटेडले दुई अंकको अग्रता पाएको छ ।

२१ खेलबाट मछिन्द्रको ३५ अंक हुँदा जावलाखेलको उति नै खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाइज दुई अंकको अग्रतासहित शीर्ष स्थानमा छ ।

त्यसैगरी, आजै ललितपुरस्थित च्यासल मैदानमा भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लवले संकटा क्लवमाथि २–१ को जित निकालेको छ ।

खेलको २४ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका आवास लामिछानेले पहिलो हाफको इन्जुरी समयमा आवासले व्यक्तिगत दोस्रो गोल गरे । ५० औं मिनेटमा मनिष डाँगीले संकटाका लागि एक गोल फर्काए ।

जितसँगै २१ खेलमा २६ अंक जोडेको एपीएफ सातौँ स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको संकटा १२औँ स्थानमा छ ।

त्यसैगरी, आजै दशरथ रंगशालामा भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले अर्को विभागीय टोली आर्मीलाई १–० ले पराजित गरेको छ ।

एनआरटीलाई जित दिलाउन कृतिश रत्न छुन्जूले ७९ औं मिनेटमा खेलको एक मात्र गोल गरे ।

जितसँगै २१ खेलमा २६ अंक जोडेको एनआरटी नवौँ स्थानमा छ । समान खेलबाट २९ अंकका साथ आर्मी पाँचौं स्थानमा यथावत छ ।