काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध सरकारले फाइल नभएर फायर खोल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा शर्माले दबाबलाई पन्छाएर नक्कली भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुराउनुपर्ने र भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताए। उनले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी बच्न नहुने बताए । शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने धारणा राखे।
त्यस्तै उनले मुलुकको अहिलेको व्यवस्थाले मुलुकमा विदेशी लगानी भित्राउन नसकिने जिकिर गरे । गैरआवासीय नेपालीको नागरिकताको विषयलाई अड्काएर राखिएका कारण पनि लगानीमा समस्या हुन सक्ने उनले बताए।
सांसद शर्माले बजेटको आकार घटाउनुभन्दा पुँजीगत खर्च बढाउन रणनीति तर्जुमा गर्नुपर्नेमा सुझाव दिए। उनले व्यापार घाटा कम गर्न उत्पादन र व्यापार बढाउनुपर्नेमा जोड दिए।
उनले प्रशासनिक सेवाहरू झन्झटिला हुँदै गएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए। सांसद शर्माले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए।
उनले भने,'अबको दशकमा व्यापार गर्न हजारौं युवाहरू तम्तयार छन्। सामेल छन्। तरकारी र फलफूल उत्पादनको कुरामा । गाई पालनको विषयमा । दुग्ध उत्पादनको विषयमा, माछामासु उत्पादनको विषयमा । तिनलाई बैंकिङ सहजताको नीति बनाउने कुरामा अर्थमन्त्रीज्यूले ध्यानदिनुपर्छ।'
मुलुकको आर्थिक अवस्था कमजोर भएकाले निजी क्षेत्र समस्यामा परेको भन्दै उनले सरकारले आफ्नो नीति सुधारेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताए।
सांसद शर्माले मुलुक आत्मनिर्भार नभएसम्म विकास संभव नहुने बताए। सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्ने भन्दै उनले ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्ने बताए। उनले भने,'सिमेन्टमा हामी आत्मनिर्भर भयौं, निर्यात सुरू गरेका छौं। जुत्तामा आत्मनिर्भर भयौं निर्यातामार्फत् अरबौं आइरहेको छ। जनतालाई गाउँमा खानेपानी पुर्याउने सरकारले हो। जुत्ता पुर्याउने नीजि क्षेत्रले हो। गाउँमा स्कुल र अस्पताल पुर्याउने सरकारले हो। मोजा पुर्याउने नीजि क्षेत्रले हो। गाउँमा बाटो पुर्याउने सरकारले हो तर टोपी र गन्जी पुरयाउने नीजी क्षेत्रले हो।'
0 comment