काठमाडौं - सामुदायिक वनमा पार्टीको क्षेत्रीय कार्यालय शिलान्यास गरेको समाचार प्रकाशन भएपछि नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का संघीय सांसद बीरबहादुर बलायरले पत्रकारहरूलाई कार्यकर्ता लगाएर ठेगान लगाउने धम्की दिएका छन्।

कैलालीको गोदावरीमा कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका बलायरले भने, ‘आज चौकीडाँडा देखाएर चौतर्फीरूपमा नेपाली कांग्रेसलाई घेराबन्दी भइरहेको छ। आज भए नभएका कुराहरू लेखेर कांग्रेसमाथि आक्रमण भइरहेको छ। हिजोका दिनमा रवि लामिछानेले पनि पत्रकारका बारेमा बोलेका थिए। पत्रकारहरू, तपाईंहरूले मेरो पार्टीको कार्यकर्तालाई बोल्न बाध्य बनाउनुभयो भने मेरो कार्यकर्ताले कुन भाषा र शैलीमा तपाईंहरूसँग सम्बाद गर्नेछ याद गर्नु होला।'
 
उनले भने, ‘जे पायो बध गरेर, मानिसको बध गरेर, जनताको मतसँग नसकेर पत्रकारको नाममा पीत पत्रकारितालाई समाप्त गर्ने अभियान पनि हुनसक्छ। अर्का माथि जाइलाग्ने कुनै पार्टीको सदस्य बन्ने हो, कुनै अमुक पार्टीलाई बलियो बनाउने अभियानमा हिन्नुभयो भने पत्रकार होइन, हामीले पार्टीको कार्यकर्ता सम्झिने छौं। त्यहीअनुसार पार्टीको कार्यकर्ताको ब्यवहार गर्नेछौं। याद गर्नुहोला नोटिस गर्नुहोला।' 

सुकुम्बासीलाई बन क्षेत्र कब्जा गरेको भन्दै हटाएकै भोलिपल्ट पूर्वमन्त्री समेत रहेका बलायरले कैलाली क्षेत्र नम्बर ४ मा पर्ने गोदावरी नगरपालिका-१ स्थित सुरक्षा महिला सामुदायिक बनमा पार्टीको क्षेत्रीय कार्यालय (बीपी स्मृति प्रतिष्ठान)को शिलान्यास गरेका थिए। पार्टीको क्षेत्रीय कार्यालय शिलान्यास गरेको उनले आफ्नै फेसबुकबाट पनि सार्वजनिक गरेका थिए।