काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीको पक्राउ पुर्जीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर उनले एमाले नेता रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकोमा शंका व्यक्त गरे। 'यो तानिएको हो कि तनाइएको हो। अध्ययन गर्दैछु। एमालेले यो विषयमा सहयोग गर्छ। निर्दोष पर्नुहुँदैन। दोषी उम्कनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं।,' उनले भने।

ओलीले भने, 'पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने कुरा रहस्यपूर्ण छ। कतै उम्केर भागेर जाने खालको त होइन। हिजो मैले कुरा गर्दा उहाँले आइजीपीले यसबारे बुझ्न खोज्नुभएको र त्यस विषयमा प्रस्ट पारदिनुपर्ने बताएका थिए। काठमाडौं आउने पनि भन्नुभएको थियो।'

यसैबिच नेता रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार बिहान काठमाडौं ल्याएर जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

प्रहरीले रायमाझीलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । 

यसै सन्दर्भमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दावी गरेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको नाममा पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै उनले आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको आरोप समेत लगाएका छन्।

प्रेस विज्ञप्तिमा भनिएको छ -'मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु। तर,संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायलयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारिपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।'