काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबलाई २-१ को नतिजामा पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशथर रंगशालामा पहिलो हाफमा विश्वास श्रेष्ठले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स भित्र रहेका पिस्टोने मुताम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेट नबित्दै मुताम्बाले नै पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको जावलाखेलले केही अवसर सिर्जना गरे पनि एक गोल मात्रै गर्न सफल भयो। एन्का्टो मासोयाबीले ७२औं मिनेटमा जावलाखेलका लागि एक गोल फर्काएका थिए। समिराज थोकरले दायाँतर्फबाट दिएको पासलाई पेनाल्टी एरियामा उत्कृष्ट रन बनाएका मासोयाबीले ट्याप इन गरेका थिए। त्यसपछि पनि गोलका केही अवसर सिर्जना गरेको जावलाखेलले फिनिसिङमा चुक्दा हार टार्न सकेन।

जितसँगै १२ खेलबाट १३ अंक जोडेको हिमालयन शेर्पा रेलिगेसन क्षेत्र छोडेर १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २३ अंक जोडेको जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा छ। 

आजै भएको अर्को खेलमा थ्री स्टार र मछिन्द्रले गोलविहीन बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले केही मौका सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल गोलविहीन टुंगियो।

बराबरीसँगै थ्री स्टारले लिग तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। थ्री स्टारको खेलबाट २२ अंक छ। समान खेलबाट १७ अंक जोडेको मछिन्द्र छैटौं स्थानमा छ।