काठमाडौं - एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ। 

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। 

पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। 

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए। त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे। उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए। 

बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३-२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए। वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए। 

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई-दुई विकेट लिए। 

समूह चरणका तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको युएई ६ अंक जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।