काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले जारी शहीद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्रसहित चार क्लबलाई कारबाही गरेको छ ।

एन्फाले मछिन्द्र, संकटा, एपीएफ र खुमलटारका पदाधिकारीलाई कारबाही गरेको जनाएको छ ।

एन्फाले संकटा, मछिन्द्र र खुमलटार क्लबलाई १०-१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गर्नुका साथै एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।

एन्फाले अप्रिल १६ मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै संकटा क्लबलाई १० हजार जरिवाना गरेको हो । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेल २६ मिनेट ढिलो सुरु भएको थियो ।

सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै एन्फाले एपीएफलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । एपीएफ क्लबका अधिकारी जिवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो ।

यस्तै एन्फाले अप्रिल १९ मा मछिन्द्रविरुद्धको खेलमा फोर्थ अफिसिलय ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका पदाधिकारी पाण्डेलाई पनि ८ खेलको निलम्बन र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

पाण्डेलाई फिफा डिसिप्लिन कोड च्याप्टर (२), दफा (१एल) शारीरिक बमोजिम कारबाही गरिएको एन्फाले जनाएको छ ।

एन्फाले गत अप्रिल ११ मा मच्छिन्द्रसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै खुमलटारलाई १० हजार जरिवाना गरेको छ । च्यासल रंगशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो ।

अप्रिल १५ मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई पनि १० हजार जरिवाना गरिएको छ । उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।