काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको समूह 'ए' अन्तर्गत नेपाल र साउदी अरबबीच मुलपानी क्रिकेट मैदानमा तय भएको खेल वर्षाका कारण  रद्द भएको छ। 

आइतबार राति तथा सोमबार बिहानदेखिको वर्षाका कारण खेल समयमा सुरु हुन सकेको थिएन। बिहान ९ बजे सुरू हुने तय भएको खेल करिब १ बजेसम्म पनि सुरू हुन नसकेपछि खेल रद्द भएको हो।

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा थियो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेपनि नेपाल सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले शुक्रबार दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। ओमानविरुद्ध रन खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले कुशल मल्लको आक्रामक शतकमा ३ सय रन पार गरेको थियो। जुन नेपालले एक दिवसीय खेलमा बनाएको सबैभन्दा ठूलो योगफल थियो। 

समूह ए मा सुरुआती दुई खेलबाट चार अंक जोडेको नेपाल आजको एकसहित पाँच अंक जोडेर अन्तिमा चारमा पुगेको छ। तीन खेलबाट चार अंक जोडेको ओमानको दोस्रो स्थानमा छ। साउदी तीन अंक जोडेर तेस्रो स्थानमा पुगेको छ। मलेसिया र चौथो स्थानको साउदी अरबको समान दुई अंक छ। पाँचौ स्थानको कतारले भने अंक खाता खोल्न सकेको छैन। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ। समूह बी मा बहराइन, युएई, हङकङ, कुवेत र सिंगापुर रहेका छन्। आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको समूह 'बी' अन्तर्गत बहराइन र हङकङबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन।