काठमाडौं - सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा लगातार चौथो हार बेहोरेको छ । 

दशरथ रंगशालमा भएको खेलमा मनाङ नवप्रवेशी खुमलटार एफसीसँग २-१ ले पराजित भएको हो।

खेलको १३औं मिनेटमै मेसुके ओलोमोउकोले गोल गर्दा खुमलटारले अग्रता लिएको थियो भने ५३औं मिनेटमा कोफी टिमोठ्ठी कुडोले पेनाल्टीमार्फत मनाङका लागि बराबरी गोल गरेका थिए । तर अर्को पेनाल्टीमा गोल गर्न नसक्दा मनाङले हार बेहोर्नुपर्‍यो । ओलोमोउले इन्जुरी टाइममा पुन: गोल गर्दै खुमलटारलाई जिताए ।

चौथो जितपछि ११ खेलबाट १३ अंक जोडेको खुमलटार ११औं स्थानमा उक्लेको छ । लगातार चार खेल हारेको मनाङ ११ खेलबाट १५ अंकसहित सातौं स्थानमा छ ।

आजै च्यासल मैदानमा भएको अर्को खेलमा साविक विजेता मच्छिन्द्रले फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा भुटानी रोनाल्डो नामले चर्चित चेन्चो ग्याल्सेनले र देवेन्द्र तामाङले मच्छिन्द्रका लागि गोल गरे । फ्रेण्ड्सका लागि राफिक अमिनुले गोल गरे ।

खेलको ४५ औं मिनेटमा चेन्चोले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमै अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे ।

७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले एक गोल फर्काए । जारी लिगमा चौथो जित हात पारेको मच्छिन्द्र ११ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । ११ खेलबाट ११ अंक नै रहेको फ्रेन्ड्स १२ औं स्थानमा छ ।