काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा एनआरटीका लागि सन्जिब विष्टले दोस्रो हाफमा निर्णायक गोल गरे । सन्जिवले ७९औं मिनेटमा गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए ।

लिगमा तेस्रो जितपछि ११ खेलबाट १३ अंक जोडेको एनआरटी दशौं स्थानमा उक्लेको छ । पाँचौ हार बेहोरेको एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीचको विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यस सिजन आर्मीको यो चौथो र पुलिसको तेस्रो बराबरी हो ।

११ खेलबाट १५ अंक जोडेर आर्मी पाँचौ स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको पुलिस अन्तिम स्थानमै छ ।