काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाको आत्मघाती गोलको मद्दतले थ्रीस्टारले ३ अंक जोडेको हो ।

खेलको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता लिएको थियो । थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । 

जितसँगै थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।

आजै भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले बिहीबार सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ । यस सिजन अपराजित एक्लो टिमको रुपमा रहेको चर्च ब्वाइजले लगातार ६ बराबरीपछि पहिलो खेल जितेको हो ।

खेलको सातौं मिनेटमै आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा सातदोबाटोका निरज चौधरीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको पहिलो मिनेटमै चर्च ब्वाइजका मिलन राईले गरेको गोल निर्णायक बन्यो ।

जितपछि चर्च ब्वाइज १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । १० खेलबाट १७ अंक रहेको सातदोबाटो चौथो स्थानमा झरेको छ ।