काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६-० गोलको एकतर्फी नतिजा निकाल्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

च्यासल मैदानमा भएको खेलको पहिलो हाफमा एक गोल मात्र गरेको जावलाखेलले दोस्रो हाफमा गोलको वर्षा गरेको हो ।

जावलाखेलका लागि फोडे फोफानाले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा हिसुब थपलियाले ५०औं र ८२औं मिनेटमा गोल गरे । एनकोटो मासोबीले ६५औं र ७२औं मिनेटमा गोल गरे । अब्दुललाजिज निशोनवाबले ६५औं मिनेटमा गोल गरे ।

पुलिसका लागि मोसेस टिवुमले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।

सातदोबाटोले एक खेल खेल्न बाँकी छ । सातौं हार बेहोरेको पुलिस १० खेलबाट ५ अंकसहित अंकतालिकाको पुछारमै छ ।

आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ३९औं मिनेटमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

सिजनको चौथो जितपछि जितपछि एपीएफ १० खेलबाट १४ अंक जोडेर मछिन्द्रलाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ ।

मछिन्द्रको यो तेस्रो हार हो । लिगको सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्र पछिल्लो ७ खेलमा अपराजित थियो । १० खेलबाट १३ अंक रहेको मछिन्द्र नवौं स्थानमा झरेको छ ।