काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ७५औं मिनेटमा सुदिल राईले गरेको एक मात्र गोल आर्मीको जितमा निर्णायक बन्यो।

जगजित श्रेष्ठले दायाँतर्फबाट प्रहार गरेको फ्रिकिकमा आएको रिबाउन्ड बललाई ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै सुदिलले गोल गरेका थिए।

आर्मीसँगको हारसँगै मनाङले ए डिभिजन लिगमा लगातार तेस्रो खेलमा पराजय बेहारेको छ। पछिल्ला चार खेलमा जित विहीन मनाङ पछिल्लो खेलमा जावलाखेल युथ क्लबसँग ३–० गोलको नतिजामा पराजित भएको थियो। त्यसभन्दा अघिल्लो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले हारेको मनाङले त्यसअघि थ्री स्टार क्लबसँग १–१ को बराबरी खेलेको थियो। 

जितसँगै १० खेलबाट १५ अंक जोडेको आर्मी लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक जोडेको मनाङ पाँचौं स्थानमा छ।

आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले एफसी खुमलटारलाई ३–१ गोलको नतिजामा पराजित गरेको थियो। 

दशरथ रंगशालामा भएको खेलको ६५औं मिनेटमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। 

निर्धारित ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदा सन्जीव विष्टले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेट नबित्दै मोहित गुरुङले गोलसँगै खुमलटार ३–० ले पछि परेको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा खुमलटारका श्याम मुर्मुले एक गोल फर्काए पनि ३–१ को हार टार्न सकेन।

जितसँगै १० खेलबाट १० अंक जोडेको एनआरटी तालिकाको १०औं स्थानमा उक्लिएको छ। समान खेलबाट समान १० अंक नै जोडेको खुमलटार ११औं स्थानमा झरेको छ।