शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पामाथि ६–० गोलको एकतर्फी जित हात पारेको छ ।

ललितपुरस्थित एन्फा मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । जारी लिगमा फ्रेण्ड्सको यो दोस्रो जित हो ।

फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक/एक गोल गरे ।

जितसँगै ९ खेलबाट ८ अंक बनाएको फ्रेण्ड्स रेलिगेसन क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

आजै च्यासल मैदानमा भएको अर्को खेलमा स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । 

बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजको पनि १५ अंक नै छ ।