काठमाडौं - ३ खेलाडीले रातो कार्ड पाएको खेलमा संकटा क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। 

च्यासल रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिगको खेलमा २९औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जुनियर केङ्गेले संकटालाई अग्रता दिलाएका थिए।

एपीएफका डिफेन्डर पेपेले संकटाका आयुष घलानलाई फाउल गरेपछि संकटाले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा जुनियरले गरेको एक मात्र गोल संकटालाई तीन अंक दिलाउन पर्याप्त भयो।

संकटा क्लबका गोलकिपर टिकेन्द्र थापा र एपीएफका खेलाडीको जर्सी रंग एउटै भएपछि यो खेल २६ मिनेट ढिला खेल सुरु भएको थियो । गोलकिपर थापाले पोलो टिर्सट लगाएर मैदान उत्रेपछि खेल सुरु भएको थियो ।

खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । संकटाका मनिष डाँगी र एपीएफका दिपेश धिमालले ६९औं मिनेटमा लगतार दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए । यस्तै संकटाका आन्द्रे थियरी बिकिबकले ७६औं मिनेटमा रातो कार्ड पाएका थिए । अपशब्द बोलेको भन्दै रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।

जितसँगै आठ खेलबाट १५ अंक जोडेको संकटा पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंक जोडेको एपीएफ छैटौं स्थानमा छ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा सातदोबाटो र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भएका थिए।

नेपाल पुलिस क्लबसँगको बराबरीसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। सातदोबाटो नौ खेलमा १७ अंक जोडेको छ। गोल भिन्नतामा जावलाखेलभन्दा पछि परेको सातदोबाटो दोस्रो स्थानमा छ। सातदोबाटोले नौ खेलमा पाँचमा जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ। यसैगरी विभागीय टोली पुलिसले नौ खेलमा पाँच अंक मात्रै जोड्न सकेको छ। पुलिस लिगको १३औं स्थानमा छ।