काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा दीपकराजसिंह ठकुरीको एक मात्र गोलको मद्दतले सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलको नतिजामा पराजित गरेको छ। 

सुरुआती सात खेलमा अपराजित मनाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सिजनको पहिलो हार बेहोर्‍यो। लिगको सर्वाधिक सफल क्लब मनाङमाथि हाबी बनेको सातदोबाटोले पहिलो हाफको अन्त्यतिर लिएको अग्रता जोगाउँदै आठ खेलमा पाँचौं जित निकाल्यो।

मनाङमाथि निरन्तर दबाब बनाएको सातदोबाटोका दीपकले ४०औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दिलाएका थिए। निरज चौधरीले मैदानको करिब बीच भागबाट दिएको थ्रु बलमा मनाङका डिफेन्डरलाई सहजै बिट् गर्दै दीपकले गोल गरेका थिए।

जितसँगै आठ खेलबाट १६ अंक जोडेको सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट १५ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा संकटा क्लबसँग न्युरोड टिम (एनआरटी) २-१ गोलको नतिजामा पराजित भएको छ। 

खेलको २२औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ३७औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको ६२औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २-१ ले विजयी भयो। जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ। एनआरटीले ८ खेलमा ६ अंक जोडेको छ। 

त्यस्तै आजै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई ५-३ गोल अन्तरले पराजित गरेको छ। 

खेलको आठौं मिनेटमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २४औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए। २८औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए।

पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए। खेलको ४७औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३-२ को स्थितिमा ल्याए। खेलको ६३औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३-३ गोलको बराबरीमा ल्याए। 

खेलको ७५औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४-३ को अग्रता दिलाए। त्यसपछि खेलको ८९औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५-३ को जित दिलाए। हिमालयन ८ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ। एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ।