काठमाडौं - साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खुमलटारविरुद्ध ७–३ गोलको फराकिलो जित निकालेको छ। 

ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रका लागी ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक-एक गोल थपे। खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए।

ओलावालेले खेलको २५औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै मच्छिन्द्रको अग्रता बढाएका थिए। ५६औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गरेका थिए। उनले पेनाल्टीमा गोल गर्दै मच्छिन्द्रलाई ४–० को अग्रता दिलाएका थिए। ६१औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काएका थिए। त्यसको एक मिनेटलगत्तै ओलावालेले चौथो गोल गर्दै मच्छिन्द्रलाई ५–१ को अग्रता दिलाएका थिए। खेलको ६७औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गरेका थिए। उनको गोलसँगै मच्छिन्द्रले ६–१ को अग्रता बनाएको थियो। 

नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पनि उक्लिएका छन्। उनले अहिलेसम्म आठ गोल गरिसकेका छन्। 

७६औं मिनेटमा स्टेफन बिनोङले गोल गर्दै मच्छिन्द्रको अग्रता कम गरेका थिए। ८१औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६–३ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८७औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रलाई ७–३ को जित दिलाए। 

जारी लिगमा मच्छिन्द्रको तेस्रो जित हो। मच्छिन्द्रले आठ खेलमा १२ अंक जोडेको छ। मच्छिन्द्र लिगको छैटौं स्थानमा उक्लिएको छ। खुमलटारले भने पाँचौं हार बेहोरेको छ। आठ खेलमा सात अंक जोडेको खुमलटार १०औं स्थानमा छ। 

आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हराउँदै तेस्रो जित निकालेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा जिलेस्पीजंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक-एक गोल गरेका थिए। जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए।

खेलको १७औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५५औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए। ६२औं मिनेटमा सुनिलले गोल गर्दै जवालाखेललाई खेलमा फर्काएका थिए।

त्यसपछि ८०औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३–१ को जित दिलाए। 

जितसँगै आर्मी पाँचौं स्थानमा उक्लिएको छ। आर्मीले आठ खेलमा १२ अंक जोडेको छ। आठ खेलमा १४ अंक जोडेको जवालाखेल दोस्रो स्थानमा छ।