काठमाडौं - कोफी कौडोले ८४औं मिनेटमा बराबरी गोल गरेसँगै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक लिगमा सोमबार थ्री स्टार क्लबविरुद्धको हार टारेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोष साहुखलले ७८औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। कौडोले दिएको ब्याक पासमा थ्री स्टारका लाकेन लिम्बुले खोसेपछि १८ यार्ड बक्स भित्र अन्मार्क्ड सन्तोषको खुट्टामा बल पुगेको थियो। सन्तोषले सोही बलमा उत्कृष्ट प्रहार गर्दै फार कर्नरमा फिनिस गरे।

तर, त्यसको ६ मिनेट नबित्दै विशोन गुरुङले दायाँतर्फबाट दिएको पासमा कौडोले हेडरमार्फत बराबरी गोल फर्काए। उनले बराबरी गोल फर्काएसँगै मनाङले जारी सिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ।

बराबरीसँगै मनाङ ६ खेलबाट १५ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको थ्री स्टार पाँचौं स्थानमा छ।

आजै भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले गोलविहीन बराबरी खेलेका छन् 

यस्तै, एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ गोलको नतिजामा पराजित गरेको छ।

सुरुआती ६ खेलमा जितविहीन रहँदै लिग तालिकाको पुछारमा रहेको तीन पटकको विजेता नेपाल पुलिसले सातौं चरणमा पहिलो जित निकालेको हो। फितलो प्रदर्शन र खराब नतिजापछि विदेशी खेलाडीलाई अनुबन्ध गर्न बाध्य बनेको पुलिसले तीनै खेलाडीको प्रेरणामा पहिलो जित निकाल्यो।

एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो। पुलिसका लागि ५१औं मिनेटमा मोजेज ट्वामले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछि बुद्धबल तामाङले गोल गर्दै विभागीय टिमको अग्रता दोब्बर पारेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काएका थिए। तर, ९०औं मिनेटमा बुद्धबलले पुनः गोल गर्दै समग्रमा ३–१ को नतिजा सुनिश्चित गरे।

जितसँगै पुलिस सात खेलबाट चार अंक जोडेर लिग तालिका १३औं स्थानमा उक्लिएको छ। समान खेलबाट समान चार अंक जोडेको फ्रेन्ड्स हेड टू हेडमा  १४औं स्थानमा छ।