काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २०औं मिनेटमा मछिन्द्रका लागि २०औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको एक मिनेट नबित्दै संकटाका लागि मनीष डाँगीले बराबरी गोल फर्काए। दोस्रो हाफको पहिलो मिनेटमै ओलावाले आफिजले गोल गर्दै मछिन्द्रलाई पुनः अग्रता दिलाउँदै खेल मछिन्द्रको पक्षमा पारे।

जितसँगै मछिन्द्र सात खेलबाट ९ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंक जोडेको संकटा आठौं स्थानमा छ। ६ खेलबाट १४ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब लिग तालिकाको शीर्ष स्थानमा छ। सात खेलबाट १४ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ।

आजै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै न्यूरोड टिम (एनआरटी)ले २–१ गोलको जित हात पारेको छ।

खामिर गिल्सनले १४औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ०–१ ले पछिपरेको एनआरटीका लागि रोहन खड्गीले ६७औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

एनआरटीका लागि सब्स्टिच्युट खेलाडी जेनिश प्रजापतीले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा निर्णायक गोल गरे। उनको त्यो गोलसँगै एनआरटीले पहिलो जित निकालेको छ।

जितसँगै सात खेलबाट ६ अंक जोडेको एनआरटी ११औं स्थानमा पुगेको छ। समान खेलबाट शेर्पा १२औं स्थानमा झरेको छ।

आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोश्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

खेलमा तीनै पटक आर्मीले अग्रता लिएको थियो। तर, अग्रता एक गोलभन्दा लम्ब्याउन नसकेको आर्मीविरुद्ध लगातार पुनरागमन गर्दै सातदोबाटोले एक अंक खोस्यो।

चौथो मिनेटमा गोल गर्दै जिलेस्पीले विभागीय टिमलाई अग्रता दिलाएका थिए। जगजित श्रेष्ठले दायाँतर्फबाट दिएको पासलाई हेडरमार्फत जिलेस्पीले गोलमा परिणत गरेका थिए।

सातदोबाटोका दीपकराज सिंह ठकुरीले २५औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार आर्मीका दुई खेलाडीलाई ठोकिएर गोलमा परिणत भएसँगै खेल १–१ को बराबरीमा पुगेको थियो। दीपकको प्रहार सुरोज बस्नेत र विकाश खवासलाई लागेर गोल लाइन पार गरेको थियो।

सातदोबाटोका एकराज बुढाथोकीले ३७औं मिनेटमा बक्सबाट क्लियर गर्न चाहेको बल जिलेस्पीको खुट्टामा लागेर फेरि गोलमा परिणत भएको थियो। त्यो गोलसँगै पहिलो हाफमा आर्मीले २–१ को अग्रता बनायो।

दोस्रो हाफमा थप रोमाञ्चक बनेको खेलमा थप तीन गोल भयो। सातदोबाटोका निरज चौधरीले दायाँतर्फबाट गरेको क्रस आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए। सोही रिबाउन्ड बललाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड सातदोबाटोका सार्दोरबेक मात्मुराटोभले आकर्षक फिनिस गरे।

त्यसको चार मिनेट नबित्दै आर्मीका राइट ब्याक दीपक गुरुङले बायाँतर्फबाट गरेको क्रस गोलमा परिणत भयो। ८४औं मिनेटमा सातदोबाटोका विलियम ओपोकु ऐसेडुले फ्रि–किकमा उत्कृष्ट गोल गर्दै सातदोबाटोलाई हारबाट जोगाए।

बराबरीसँगै आर्मी सात खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट १३ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लिएको छ। आजको खेलमा जित निकाल्न नसक्दा सातदोबाटोले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।