काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रनको योगफल तयार गरेको थियो।

खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५०औं एकदिवसीयमा पहिलो पटक तीन सयभन्दा ठूलो योगफल तयार पार्‍यो। यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध २९७ रनको कीर्तिमानी योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२६ रन मात्रै बनाउन सक्यो।

ओमानका लागि मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीइ इनिङ खेले। यस्तै, सन्दीप गौडले ४६, आयान खानले २९ तथा कस्यप प्रजापतिले २५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। यस्तै, ललित राजवंशीले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे।

दुवै ओपनरलाई शुन्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशल मल्लले ५९ बलमा ९ चौका र ९ चौकासहित शानदार शतक बनाएका थिए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलले यो सबैभन्दा छिटो बनाएको शतक हो। नेपालका लागि कुल ६४ बलको सामना गरेका कुशलले ९ चौका र १० छक्कासहित एक सय ८ रनको इनिङ खेलेर आउट भए।

यस्तै, सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर अविजित रहे। त्यसअघि आरिफ शेख ४३ बलमा २९ रन बनाएर आउट भएका थिए। यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए। करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

ओमानका लागि आयान खानले दुई तथा बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, फयाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक–एक विकेट लिए।

पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ।