काठमाडौं - एसीसी प्रिमियर कपको समूह ‘बी’ अन्तर्गतको खेलमा यूएईले सिंगापुरलाई २०१ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि ४७१ रनको विशाल योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरले ९ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा पाँच चौका र चार छक्कासहित ६६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, थिल्पान ओमाइदुराइले ५६ बलमा चार चौका र तीन छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले।

बलिङतर्फ यूएईका लागि आयान खान, कार्थिक मैयाप्पन र सन्चित शर्माले दुई-दुई विकेट लिए। यस्तै, जुनेद सिद्दिक्वी, रोहन मुस्तफा र जहुर खानले एक-एक विकेट लिए।

पहिलो इनिङमा यूएईका लागि ओपनिङमा आएका कप्तान मोहम्मद वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १६० रनको शानदार इनिङ खेले।

यस्तै, उनीसँगै २४६ रनको साझेदारी गर्दै विकेटकिपर–ब्याटर वृत्या अरविन्दले १३३ बलमा १७ चौका र सात छक्कासहित १७४ रनको उत्कृष्ट इनिङ खेले।

यस्तै, आयान अफजल खानले ५० बलमा ९ चौका र तीन छक्कासहित ७४ रनको इनिङ खेले।

सिंगापुरका लागि अद्वित्य भारगवाले सर्वाधिक ४ विकेट लिए। यस्तै, रमेश कालिमुथुले ३ तथा विनोथ बासकराणले २ तथा मनप्रीत सिंहले एक विकेट लिए।