काठमाडौं - एसीसी मेन्स कप अन्तर्गतको समूह ‘बी’ को खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर २२७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४१.४ ओभरमा २ विकेट मात्रै गुमाएर २२८ रनको लक्ष्य पूरा गर्‍यो।

ओमानका लागि एक सय ११ बलको सामना गरेका जतिन्दर सिंहले १३ चौका र एक छक्कासहित १०१ रनको शानदार शतकीय इनिङ खेले।

जतिन्दरसँग पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरेका अर्का ओपनर कश्यप प्रजापतिले ६९ बलमा ९ चौका र एक छक्कासहित ६६ रनको अर्धतकीय इनिङ खेले।

कप्तान जिशन मक्सुदले अविजित रहँदै ५८ बलमा १० चौकासहित ५२ रन जोडे। मलेसियाका लागि मुहम्द अमिरले २ विकेट लिए।

मलेसियाका लागि १४४ बलको सामना गरेका विरनदीप सिंहले १३ चौकासहित ९४ रन जोडे। यस्तै, मोहम्मद स्याहादातले ६० बलमा ६ चौका र एक छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ खेले।

ओमानका लागि जिशन मक्सुदले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, बिलाल खान र आयान खानले २–२ तथा कलिमुल्लाहले एक विकेट लिए।