काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी मेन्स प्रिमियर कपका लागी १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ। 

रोहित पौडेलको कप्तानीमा आइतबार घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्। यस्तै, क्यानले अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक राखेको छ।

प्रतियोगिताको तयारी स्वरुप शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको ओमानले ९ विकेट गुमाएर दुई सय ४६ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन पद्धतिबाट सेमिफाइनलिस्टको टुङ्गो लगाइनेछ।

समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब परेका छन्। यस्तै, समूह बीमा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा रहेर खेल्न पाउने छ। यही प्रतियोगिताका शीर्ष तीन टिमले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ।