काठमाडौं - नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्धित भएकी छिन् ।

शाहीले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् । साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी उनी त्यसपछि विभागीग क्लब त्रिभुवन आर्मीमा आबद्ध भइन् ।

रेनुका नगरकोटी घाइते भएपछि दीपाले साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा रहँदै भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । उनले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि उच्च प्रदर्शन गरेकी थिइन् जसका कारण राष्ट्रिय टिममा आएको छोटो समयमा नै दीपाले विदेशी लिगमा अनुबन्धित भएकी हुन् ।

दीपाले भनिन्, ‘पहिलो पटक पाएको अवसरको सदुपयोग गर्नेछु । छोटो समयमा नै विदेशी लिग खेल्न पाएको छु । अझ मेहनत गर्दै उक्त स्थानमा आफूलाई प्रमाण्ति गर्नेछु ।’

नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले हिरो इन्डियन वुमेन्स् लिग खेलिसकेका छन् । सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितिसकेका छन् । अनिताले सावित्रासँगै खेल्दा सेथुबाट लिग जितेकी थिइन् । यसपटक पनि गोकुलमले सावित्रालाई अनुबन्धित गरिसकेको छ । 

१६ टिमको सहभागिता रहने हिरो इन्डियन वुमेन्स् लिग अप्रिल २५ बाट सुरु हुँदैछ ।