काठमाडौं - पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा हाबी बनेको भियतनामले पहिलो हाफमा नै ३-० ले अग्रता लिएको थियो । 

खेलको ११औं मिनेटमा फमा हाई येनले हेडरमार्फत गोल गर्दै भियतनामलाई १-० को अग्रता दिलाएकी थिइन्।

हिरा भुजेलले खेलको ३५औं मिनेटमा १८ यार्ड बक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै भियतनामी कप्तान ह्युन न्हुले भियतनामको अग्रता दोब्बर पारिन्। भियतनामका लागि खेलको ३८औं मिनेटमा ग्युयेन थी बिच थुयले गरेको प्रहार नेपाली डिफेन्डर अम्रितालाई लागेर गोलमा परिणत भएको थियो।

भियतनामी कप्तान ह्युन न्हुले खेलको ४८ औँ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई ४-० मा पुर्‍याईन् । खेलको ७९ औँ मिनेटमा नेपालका लागी सबिता भन्डारीले सान्त्वना गोल गरेकी थिईन् । 

दोश्रो हाफको अतिरिक्त समयमा भियतनामकी नुयेन थि थान नाले अर्को गोल गरेपछी नेपाल ५-१ ले पराजित भएको हो ।

पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ मा नेपाल र भियतनामसँगै प्यालेस्टाइन र अफगानिस्तान पनि परेका थिए। तर, दुवै टिमले नाम फिर्ता लिएसँगै नेपाल र भियतनामबीच दुई खेल हुने र शीर्ष टिम दोस्रो चरणमा प्रवेश गर्ने भएका छन्।

नेपाल र भियतनामबीच दोस्रो खेल शनिबार दशरथ रंगशालामै हुनेछ।