काठमाडौं - पहिलो सहभागितामै चर्च ब्वाइज युनाइटेडले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेको छ। 

सिमरा रंगशालामा शनिबार भएको फाइनलमा १० खेलाडीमा सिमित हिमालयन शेर्पा क्लबलाई २-० ले पराजित गर्दै चर्च ब्वाइजले उपाधी उचालेको हो। खेलको ३५औं मिनेटमा चर्च ब्वाइजका कप्तान मिलन राईले डिबक्स बाहिर पाएको फ्रिकिकबाट सिधै गोल गर्दै १-० अग्रता दिलाए। निर्धारित ९० मिनेटको खेलमा थपिएको इन्जुरी समयमा आशिष चापागाईंले चर्च ब्वाइजका लागि दोस्रो गोल गरे।

खेलको छैठौं मिनेटमै शेर्पाका डिफेण्डर दिवस उरावले चर्च ब्वाइजका रंजित पाण्डेलाई तानेर लडाएपछि रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाउँदै उनलाई मैदान बाहिर पठाएका थिए।

शेर्पा १० खेलाडीमा सिमित हुन पुगेको थियो। डिबक्स बाहिर शेर्पाका डिफेण्डर दिवस उरावले चर्च ब्वाइजका रंजित पाण्डेलाई लडाएपछि रेफ्री नविन्द्र महर्जनले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। शेर्पाको डिफेन्स लाइनअपलाई छल्दै बल अघि बढाका पाण्डेलाई उरावले तानेर लडाएका थिए।  

प्रतियोगिताको दोस्रो संस्करणको विजेता शेर्पा २०६९ सालमा सम्पन्न चौथौं संस्करणमा उपविजेता रहेको थियो। त्यसयता शेर्पा फाइनलमा प्रवेश गर्न सकेको थिए। दश वर्षपछि उपाधी जित्ने अवसर बनाएपनि शेर्पा सफल हुन सकेन। 

उपाधि विजेता चर्च ब्वाइजले १० लाख र उपविजेता शेर्पाले पाँच लाख प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठले टिभिएस राइडर मोटरसाइकल प्राप्त गरे। 

विधागततर्फ पुरस्कारतर्फ चर्च ब्वाइजका वर्चश्व रहयो। उत्कृष्ट गोलरक्षक युएस प्रिसो, उत्कृष्ट डिफेन्डर फ्र्यांकलिन टाला, उत्कृष्ट मिडफिल्डर सुवास गुरुङ र उत्कृष्ट पुरस्कार प्रदीप हुमागाई घोषित भए। शेर्पाका सुशिल राईले उत्कृष्ट फरवार्डको पुरस्कार प्राप्त गर्दा भरतपुर फूटबल क्लबका सुनिल श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए। विधागततर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गरे। प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका दिलिप माझी घोषित भए। उनले १५ हजार हात पारे। खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका फ्र्यांकलिन टाला घोषित भए। 

विजेता तथा उपविजेता खेलाडीलाई उपराष्ट्रपति रामसहाय यादव, संविधान सभाका सदस्य शोभाकर पराजुरी, जयराम दाहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, एन्फा अध्यक्ष पंकज नेवाङ, मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, मुख्य प्रायोजक जगदम्बा स्टील्स् प्रालिका आयुश गुप्ता, भाइस प्रेसिडेण्ड कृष्णदत्त भट्ट, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, क्लबका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए।