काठमाडौं - लाओसलाई २-१ ले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको सुरुआतमै १-० ले पछि परेको नेपालले मनीष डाँगीको निर्णायक गोलसँगै उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो।

खेलको १७औं मिनेटमा लाओसका विङ्गर साङ्भिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। तर, त्यसको सात मिनेट नबित्दै आयुष घलानले नेपालका लागि बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा मनीष डाँगीले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। 

भुटानविरुद्धको खेलमा घाइते भएका अञ्जन विष्ट पहिलो रोजाइमा परेका थिएनन्। उनलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए। यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएर निलम्बनमा परेका पुजन उपरकोटीको स्थान मणिकुमार लामाले लिएका थिए। यस्तै, नवयुग श्रेष्ठको स्थानमा मनीष डाँगीले मौका पाएका थिए।

पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। पहिलो खेलमा पराजित भएको लाओसले दोस्रो खेलमा भुटानलाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

उपाधिसँगै विजेता नेपालले पाँच हजार अमेरिकी डलर तथा उपविजेता लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरेका छन्। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बन्दै आयुष घलानले ५०० अमेरिकी डलर प्राप्त गरे भने प्लेयर अफ द म्याच मनीष डाँगीले २५० अमेरिकी डलर प्राप्त गरे ।