काठमाडौं - कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कपको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट मात्र गुमाएर १५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्री ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रनको योगदान गरिन्। यस्तै, लकिता राजवंशीले अविजित २१ रन बनाईन् । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एपीएफका लागि विनु बुढाले सर्वाधिक २ विकेट लिँदा नेरी थापा, सोनु खड्का र रेखा रावलले कोशी १-१ विकेट लिए।

पहिलो इनिङमा एपीएफका लागि सिता राना मगर र इन्दु बर्माले १३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गरे। सिताले ६८ बलमा ९ चौका र २ छक्कासहित अविजित ७९ रनको इनिङ खेलिन्। यस्तै, इन्दुले ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेलिन्।

कोशीकी अलिशा खडियाले एक विकेट लिईन्।

जितसँगै एपीएफले ललितपुर मेयर कपको उपाधि लगातार तीन पटक उचालेको छ । 

विभागीय टिम एपीएफ लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कोशीले दोस्रो स्थानमा रहेर उपाधि भिडन्तमा स्थान बनाएको थियो।