काठमाडौं - नेपालले पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्रै खेल्ने भएको छ। 

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्रै खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो। छनोट खेलमा शीर्ष स्थान हात पार्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन्।  एन्फाले दुई खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट दर राखेको छ।

भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फाका प्रवक्त सुरेश साहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। भियतनामसँगको छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले ३३  सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। ओलम्पिक छनोटको तयारीकै लागि नेपालले गत महिना भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। भारतसँगको दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो।