काठमाडौं - आगामी अप्रिल ११ देखि नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेटको नयाँ खेलतालिका सार्वजनिक भएको छ। 

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा घरेलु टिम नेपाल र मलेसिया आमनेसामने हुनेछन्। यसअघि सर्वजानिक गरेको खेल तालिकालाई फेरबदल गर्दै एसीसीले नयाँ तालिका सार्वजानिक गरेको हो। 

यसअघि नेपाल र यूएई एकै समूहमा थिए। अहिले नेपाल रहेको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदी अरब छन्। समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। 

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। दोस्रो खेल अप्रिल २१ मा ओमानसँग, तेस्रो २४ अप्रिलमा बहराइनसँग र समूह चरणको अन्तिम खेल २७ अप्रिलमा कतारसँग खेल्नेछ। 

दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलका दुवै खेल अप्रिल २९ मा हुनछन्। सेमिफाइनल विजेताले मे १ मा उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

यस प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ। शीर्ष तीन टिमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन्।