काठमाडौं - प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलले पराजित गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालका लागी ५६औं मिनेटमा नवयुग श्रेष्ठले करिब ३५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए।

नेपाली टिमका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले डेब्यू खेलमा एनेसले चार खेलाडीलाई राष्ट्रिय टिममा डेब्यू गराए। 

डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर मणी लामा, दिपकराज सिंह ठकुरी र अट्याकर सुमित श्रेष्ठले आज डेब्यू गरे। सनिशले पहिलो रोजाईमै स्थान बनाउँदा बाँकी तीन खेलाडीले सब्स्टिच्युटको रूपमा मौका पाए।

नेपाल फिफा वरीयताको १७५औं स्थानमा छ। लाओस नेपालभन्दा १२ स्थान तल १८७औं स्थानमा छ। नेपालले प्रतियोगिताको अर्को खेलमा शनिबार भुटानविरुद्ध खेल्ने छ।