काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले एपीएफ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलको ३४ औं मिनेटमा एपीएफका लागि अर्मान्ड बिडोमले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मनाङका कमल थापाले गोल गर्दै खेल बराबरी गरेका थिए । ७२औं मिनेटमा सइदजामोल दाभलात्जोनोभले बाहिरी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएपछी मनाङले जित एपीएफविरुद्ध २–१ को जित निकाल्यो ।

जितसँगै मनाङ पाँच खेलबाट ११ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट ७ अंक जोडेको एपीएफ छैटौं स्थानमा छ ।

नेपाली राष्ट्रिय टोलीले मार्च २२ देखि ३१ सम्म दशरथ रंगशालामा हुने प्रधानमन्त्री थ्री नेसन्स कपमा सहभागिता जनाउने भएकाले शहीद स्मारक ए डिभिजन लिगमा अब दुई साताको विश्राम दिइनेछ ।