काठमाडौं - दीपक गुरुङले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई २-१ को नतिजामा पराजित गरेको छ। 

च्यासल रंगशालामा निर्धारित ९० मिनेटसम्म १-१ बराबरी भएको खेलको अन्तिम क्षणमा गोल गर्दै आर्मीको उत्कृष्ट पुनरागमनसहित अंक सुरक्षित गरे।

खेलको छैटौं मिनेटमा रफिक अमिनुले उत्कृष्ट फिनिसिङ गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा जिलेस्पीजंग कार्कीले हेडरमार्फत गोल गर्दै बराबरी गरे।

पाँच खेलबाट आठ अंक जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ। पाँच खेलबाट ४ अंकसहित फ्रेन्ड्स १२औं स्थानमा छ।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टिम (एनआरटी)सँग १-१ गोलको बराबरी खेलेको छ। सन्जीव विष्टले ६४औं मिनेटमा गरेको गोलसँगै १-० ले पछि परेको पुलिसले गोल फर्काउँदै हार टार्यो।

पुलिसका लागि ७५औं मिनेटमा प्रताप गुरुङले गरेको गोलसँगै विभागीय टिमले चार खेलबाट पहिलो अंक जोडेको छ। समान खेलबाट दुई अंक जोडेको एनआरटी १३औं र पुलिस १४औं स्थानमा छ। 

डबल राउन्ड लिगका २६ खेलपछि पुछारका दुई टिम बी डिभिजन लिगमा घटुवा हुनेछन्। अहिले पुलिस र एनआरटी नै तालिकाको पुछारमा छन्। पाँच खेलबाट १२ अंक जोडेको सातदोबाटो लिग तालिकाको शीर्ष स्थानमा छ।