काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको ललितपुरे डर्बीको १५औं मिनेटमा एनकोटो मासोबीले गरेको निर्णायक गोलमा जावलाखेलले ३ अंक जोडेको हो ।

यस सिजन उत्कृष्ट सुरुवात गरेको जावलाखेलको यो तेश्रो जित हो । ५ खेलबाट ३ जित एक बराबरी र १ हारबाट १० अंक जोडेको जावलाखेल तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको थ्री स्टार ५ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ ।

यस्तै आजै भएको साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन च्याम्पियन मछिन्द्र र बी डिभिजन च्याम्पियन चर्च ब्वाइजबीचको भिडन्तमा दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटियो । चर्च ब्वाइजका जोसेपलाई फाउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई सिधै रातो कार्ड देखाएका थिए । मछिन्द्रले दोस्रो हाफमा दश खेलाडी रहेर खेले पनि चर्च ब्वाइजले गोल गर्न सकेन ।

जारी लिगमा चर्च ब्वाइज र मछिन्द्र दुवैको यो दोस्रो बराबरी हो । चर्च ब्वाइजले ५ खेलबाट ११ अंक र मछिन्द्रले ५ खेलबाट ५ अंक जोडेका छन् ।