काठमाडौं - सातौं संस्करणको विराट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक विराट गोल्डकप ट्रष्टले गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। ट्रष्टका अनुसार चैत्र ९ देखि १७ गते चल्ने गोल्डकपमा ३ विभागीयसहित नेपालका ६ र विदेशका २ वटा टिम गरी कुल ८ वटा टिमले सहभागिता जनाउने छन्। 

विराटनगरस्थित शहिद रंगशालामा आयोजना हुने गोल्डकपमा विभागीय टिमबाट त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) सहित संकटा क्लब, जावलाखेल युथ क्लब र घरेलु टिम विराटनगर सीटी फुटबल क्लबको सहभागिता रहने छ। विदेशी टिमका रूपमा डुक ल्युल फुटबल क्लब भुटान र केरलाको लुका सकर क्लबको समेत सहभागिता निश्चित भएको छ।

गोल्डकपको विजेता टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागततर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिइने छ।

यसअघि भएको छैठौं संस्करणको गोल्डकपमा विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजारको पुरस्कार प्राप्त गरेका थिए। खेलाडीहरूको मनोबल उच्च बनाउन यसपटक पुरस्कारको राशी थप गरिएको आयोजकको भनाइ छ।

विराटनगरमा २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। महेन्द्र गोल्डकपका नाममा २७ औँ संस्करणसम्म प्रतियोगिता आयोजना भएपछि २०६८ सालबाट नाम परिवर्तन गरेर विराट गोल्डकप आयोजना हुँदै आएको छ। 

यसपटकको प्रतियोगिता आयोजना गर्न २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगितामा सहभागी हुने दर्शकले क्वाटरफाइनल खेलसम्म २०० रुपैयाँका दरले टिकट खरिद गर्न पाउने आयोजकले जनाएको छ। 

आयोजकका अनुसार क्वाटर फाईनलपछिको खेलका लागि खल्ती एपमार्फत् ४०० र रंगशालामै ५०० रुपैयाँका दरले टिकट खरिद गर्न सकिने छ।