काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि हुने प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएको छ भने उपविजेताले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएको छ । यस्तै हरेक खेलका म्यान अफ दी म्याचलाई दुई सय ५० अमेरिकी डलर प्राप्त गर्ने छन्।

आयोजक एन्फाले सोमबार एक पत्रकार सम्मेलन जारी गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर प्राप्त गर्ने जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुरस्कार राशी बेहोर्ने बतायो।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ भएको पनि एन्फाले जानकारी दिएको छ।

एन्फाले यसअघि नै सामान्य प्यारापिटतर्फ पाँच सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ टिकट मुल्य तोकिसकेको छ।

प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न भुटान र लाओसको टिम काठमाडौं आइपुगिसकेको छ। बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपालसँगै भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

मार्च ३१ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बुधबार लाओससँग खेल्ने छ। यस्तै, भुटानसँग शनिबार खैल्ने छ। समूह चरणबाट शीर्ष दुई टिमले अर्को शुक्रबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणका सबै खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् भने फाइनल ५:३० बजेदेखि हुनेछ।